
स्रष्टाहरूले दिए गंगालाई महत्त्व ।
स्रष्टा मिलनमा गङ्गाको झंकार
काठमाडौ ।
स्रष्टा मिलन – गंगबूँको आयोजनामा लघुकथाकार गङ्गा खड्काका नयॉ र पुराना सृजनाहरूमाथि अन्तरङ्ग विमर्श गरियो । द लङ्का क्याफे, वसुन्धरामा आयोजित कार्यक्रममा गङ्गाको लघुकथासङ्ग्रह ‘झङ्कार’ माथि साहित्यिक विमर्श र परिचर्चा गरिएको हो ।

लघुकथाकार एन्जल निलुबाट गङ्गा खड्काको ‘रहस्य’ लघुकथा वाचनबाट कार्यक्रम सुरुभएको थियो । वाचित ‘रहस्य’ लघुकथामाथि लघुकथाकार ध्रुवराज थापाले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । त्यसैगरी लघुकथा समाजकी सदश्य तारा के.सी.ले लघुकथा ‘समय’ वाचन गर्नुभएको थियो । ‘समय’ मा रहेर साहित्यकार विवेक गौतमले समय कस्तो कथा हो र ! यसका विशेषता र सन्देश के कस्ता छन् ? गङ्गाका कथाले दिने सन्देश र कथाको सार के हो भन्ने बुझ्न सकिने बताउनुभयो ।
सर्जक गङ्गा खड्काले लघुकथा ‘शक्ति’ वाचन गर्नुभयो । ‘शक्ति’माथि टेकेर लघुकथाकार कुमुद शर्मा प्याकुरेलले आफ्नो समीक्षात्मक मन्तव्य राख्दै गङ्गाका कथाहरू रसिला–पोसिला, चोटिला र पोटिला रहेका छन् भन्नुभयो । उहाँले कथामा भाषाशैली र वर्णविन्यासमा केही ध्यान दिनसके कथा उत्कृष्ट रहेका छन्, भन्नुभयो ।

सात्यिकार/पत्रकार उमेश पाण्डेले कथाकार गङ्गा खड्काका लघुकथाहरू पढेर नथाकिने छन् भन्नुहुँदै गङ्गा पारिवारिक घटना र पृष्ठभूमिमा सामाजिक यथार्थवादी कथालाई सरल ढङ्गमा लेख्नसक्ने एउटा सशक्त नारी स्रष्टा हुन्न्, भन्नुभयो ।लघुकथा प्रतिष्ठान नेपालका संस्थापक एडमिन मनोहर पोखरेलले शुभकामना मन्तव्य राख्नुहुँदै सरल र सामाजिक यथार्थवादी कथाकार गङ्गाका लघुकथाहरू पाठकका रोजाइमा पर्दै आएकाले नै पाठकहरूको माग अनुसार सम्पादक/प्रकाशकहरूले उहाँका कथाहरूलाई पहिलो प्राथमिकतामा राखेर प्रकाशन र प्रसारण गर्दै आउनुभएको छ, भन्नुभयो । उहाँले स्रष्टालाई उसको व्यक्तित्वलेभन्दा उसको सिर्जनाले चिनाउनुपर्छ, भन्नुभयो ।

डा.शैलेन्दुप्रकाश नेपालले आफ्नो धारणा राख्नुहुँदै गङ्गाको समग्र व्यक्तित्वलाई कथा लेखनले उचो बनाउँदै लगेको र नेपाली लघुकथाको क्षेत्रमा गङ्गाको भविष्य उज्ज्वल रहेको बताउँनुभयो । डा.नेपालले नेपाली लघुकथामा गुणात्मकभन्दा सङ्ख्यात्मकमा बढी ध्यान जान थालेकोमा भने चिन्ता व्यक्त गर्नुभयो । उहाँले लघुकथा छोटो, मीठो र यथार्थपरक हुँदै गुणात्मक पक्षमा विशेष रहनुपर्ने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन तथा सहजीकरण गर्नुहुने लघुकथाकार दीपक लोहनीले स्रष्टा गङ्गा खड्काको व्यक्तित्व र कृतित्वका बारेमा विवेचनात्मक प्रस्तुति दिनुभएको थियो । खड्काको लघुकथाले यथार्थवादी सामाजिक बिषयको उठान गर्दै परिवारभित्रको नारी मनोविज्ञान पस्किएको बताउनु भयो ।गंगाका लघुकथामा रहेको कालदोष हटाउने हो भने उनीका लघुकथाहरू थप अब्बल रहने पनि बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा सर्जक गङ्गा खड्काले आफ्ना आगामी सिर्जनाहरूलाई परिमार्जन र परिस्कृत गर्न आजका सल्लाह र सुझावहरूले निकै मद्दत पुर्याउने बताउँदै प्राप्त विचारहरूलाई अक्षरस पालन गर्दै जाने छु, भन्नुभयो ।

स्रष्टा मिलनले साहित्यिक कार्यक्रममा उपस्थित व्यक्तिहरूले ताली मात्र बजाउने परम्पराको अन्त्य गर्दै उपस्थित हरेक व्यक्ति नै वक्ता बन्ने परिपाटीको सुरुवात गरेको छ ।