
काठमाण्डौ ।
हालै मात्र आफ्नो बहत्तरौं जन्मदिन मनाएका बरिष्ठ आख्यानकार नारायण ढकालसँग कथा यात्रा समूहले कथाकारको कथनी कार्यक्रमसहित भेट गरेको छ । काठमाण्डौको मुलपानीमा जन्मिएर राजनीति, पत्रकारिता र लेखन क्षेत्रमा सकृय भूमिका निर्वाह गरेका ढकालको कथाकारिता माथि नेपाली साहित्य आकाशमा उच्च सम्मानसाथ चर्चा गरिन्छ ।
समाजवादी दृष्टिकोण राख्ने नारायण ढकालका प्रेतकल्प, हजार माइलको बाटो, वृषभ वध, तमस, अन्तिम पात लगायतका पुस्तकहरू चर्चित छन् ।
विशेष गरी काठमाण्डौको काँठ क्षेत्रको विषयवस्तुमा अधिकार र समानताको वकालत गरिएका कथाकार नारायणका कृतिहरूमा यस क्षेत्रको सम्पदा र संस्कृतिको समेत प्रचुरता भेटिन्छ ।
कथाकारको कथनीमा आफ्नो लेखन अनुभव बाँड्दै कथाकार ढकालले आफ्नो पठन र लेखन अनुभव साझा गरेका छन् । विदेशी साहित्यको अध्ययन गर्न अत्यन्त रुचाउने छवि बनाएका उनले महाभारत, रामायण लगायतका धार्मिक विषयवस्तुका कथाहरूको वर्तमान सन्दर्भमा पुनर्लेखन तथा विस्तारित कथा लेख्न उपयुक्त हुने बताए ।
लेखनमा अध्ययनको अत्यन्त ठूलो महत्व हुने भएकोले अध्ययन गर्न जोड दिँदै म्याक्सिम गोर्कीले नपढेको भए आफू हत्यारा हुने भनेको प्रसङ्ग समेत नारायण ढकालले उठाए । नेपाली लेखकहरूमा विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा, मोदिआइन, तीन घुम्ती लगायतमा उच्च स्तरको समाजवादी दृष्टिकोण रहेको कुरा नेपाली साहित्य क्षेत्रले गर्व गर्नुपर्ने भन्दै वामपन्थभित्र सौन्दर्यको नाममा देखिएको सामन्तवादमाथि कथाकार नारायण ठकालले छेडखानी समेत गर्न भ्याए । अनुसन्धानपरक तरिकाले नयाँ नयाँ क्षेत्रको विषयमा लेख्न सकिने भए पनि आफूलाई बढी आत्मविश्वास भएको क्षेत्रमा नै लेखकहरू केन्द्रित हुनु स्वभाविक नै हुने तर्क राख्दै आफू समेत काँठको परिवेशमा बढी केन्द्रित रहेको हुँदा आफूलाई काँठको क्लर्क भन्ने आरोप लागेको तथापि यस वाहेकका विषयवस्तुमा कलम नै नचलाएको भने होइन भनी बताए ।
आफ्ना समकालीन लेखक मित्रहरू राजव, विमल निभाको संस्मरण गर्दै आफू आख्यान लेखनमा कसरी बढी सकृय भएँ भन्ने विषय समेत उनले कथा यात्रीहरूलाई बताएका छन् ।
नेपाली कथा साहित्यमा क्रियाशील रहेको कथा यात्रा समूहमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुइकेल, पवित्रा अधिकारी र हरिश कल्पित रहेका छन् ।यो समूहले नेपाली कथालाई थप चलाएमान गर्न हरेक महिना अग्रज कथाकारहरू मध्येबाट एकको जन्मोत्सवको अवसरमा कथाकारको कथनी सुन्दै आएको छ र दुई वर्षदेखि कथामाथि पाण्डुलिपि वहसलाई निरन्तरता दिइरहेको छ ।