शैलुङको सुसेली

तीन हजार एक सय ४५ मिटरको उचाइमा रहेको शैलुङलाई धेरै जसो बादलले छोप्ने तर मौसम परिवर्तन भइरहने लामाको भनाइ छ

विमला देवकोटा

२०८२ असार

काठमाडौं देखी १ सय ४० किलोमिटर पूर्वको दुरीमा पर्ने दोलखा र दोलखाको सदरमुकाम चरिकोटबाट करिब ५० किलोमिटर दक्षिणतर्फ पर्ने सय वटा थुम्का रहेको स्थान शैलुङमा विशेष गरी शेर्पा र तामाङ जातीको बाहुल्यता रहेको छ । रामेछाप र दोलखाको सिमानामा रहेको धार्मिक तथा पर्यटकीय स्थल शैलुङ घुम्न बाह्रै महिना पर्यटक आउने गर्दछन् ।

स्थानीयका अनुसार गएको हिउँददेखि दसैँ तिहारसम्म करिब ५० हजार पर्यटक शैलुङ घुम्न आएका थिए । यस वर्ष त्यो सङ्ख्या दोब्बर हुने अनुमान गरिएको छ । शैलुङका सबै होमस्टे पाहुनाले भरिने गरेका छन् । “जनपूर्णिमा, तिज, दसैँ, नयाँ वर्ष र हिउँ परेको बेला मानिसको भिड लाग्ने गर्छ  ।

हिन्दु र बौद्ध धर्मावलम्बी शैलुङको धार्मिक यात्रामा जाने गर्छन् । शैलुङलाई यी दुवै धर्मावलम्बीले तपोभूमिका रूपमा लिने गर्छन् । दृश्यावलोकनका साथै हिउँमा खेल्न र चौँरी हेर्न पर्यटक शैलुङ पुग्ने गर्छन् । चैत–वैशाखमा फुल्ने विभिन्न थरीका गुराँसले शैलुङलाई मनमोहक बनाउने गर्छ । वर्षायाममा फुल्ने विभिन्न जातका भुइँ फूलले पर्यटकलाई त्यतिकै लोभ्याउँछ ।

शैलुङबाट बिभिन्न हिमालहरुको मनोरमद्दृश्यावलोकन गर्नुको साथै सो क्षेत्रबाट खुला मौसममा काठमाडौं, सिन्धुली, सिन्धुपाल्चोक, रामेछापलगायतका जिल्लाहरुको समेत सोही स्थानबाट अवलोकन गर्न सकिने स्थानीयहरुको भनाईरहेको छ ।

सो क्षेत्रको विशेषता चौरी पालन र चौंरीको दुधबाट बनेको छ्र्पी, सेरगेम, चिज उत्पादन गरी नजिकैको मुडे बजार लगायमा बिक्री गरी आयाआर्जन गर्नुका साथै सो क्षेत्रमा नगदेबालीको रुपमा आलु उत्पादन रहेको छ । विगतको तुलनामा सैलुङ क्षेत्रमा पर्यटकको आगमन बढेको र स्थानीयहरूको जीविकोपर्जनका लागि पर्यटन क्षेत्र महत्वपूर्ण बन्दै गएको स्थानीयहरूको भनाइ छ ।

आन्तरिक र वाह्य पर्यटक भित्र्याउन सुविधा, सहजता र प्रचार प्रसारका लागि स्थानीय र प्रदेश सरकारको साथमा संघीय सरकारले पनि सहयोग गरेको । र सैलुङमा नयाँ वर्ष र साउन पूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने स्थानीयहरु बताउँछन् ।

तीन हजार एक सय ४५ मिटरको उचाइमा रहेको शैलुङलाई धेरै जसो बादलले छोप्ने तर मौसम परिवर्तन भइरहने लामाको भनाइ छ ।

शैलुङसम्म पुग्ने सडक निर्माण र प्रचार बढ्दै गएपछि पर्यटक बढेका हुन् । पर्यटकलाई बस्न शैलुङ क्षेत्रमा केही होमस्टे बनेका छन् । जसले गर्दा पर्यटकलाई बास बस्न सहज भएको छ । अझै होमस्टे तथा सुविधासम्पन्न होटल विस्तार गर्न भने आवश्यक रहेको छ । “अहिले शैलुङमा स्वदेशी र विदेशी पर्यटक आउने गरेका छन् । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेलगायतका जिल्लाबाट आउनेको सख्या अधिक छ । तराई र भारतबाट पनि पर्यटक आउने गरेका छन् ।

शैलुङको विकासका लागि बहुवर्षीय योजनामा बेस क्याम्प कालापानीबाट शैलुङ पैदलबाट जान यो वर्ष पाँच करोड रुपियाँ लगानीमा तीन मिटर फराकिलो, दुवैतर्फ पर्खाल रहेको पाँच सय मिटरको मिनी ग्रेटवाल निर्माणाधीन अवस्थामा छ । शैलुङ डाँडासम्म आठ किलोमिटर टाढाबाट विद्युत् लाइन पु¥याइएको छ । पिउने पानीको व्यवस्था छ भने वाइफाईको व्यवस्था मिलाइएको छ । आकर्षक बनाउन ठुलो घण्टी पनि जडान गरिएको छ । शैलुङमा गौतम बुद्धले तपस्या गरेको विश्वास गरिन्छ । साङ्गे लामाले यहीँ बसेर पूजापाठ गरेकाले साङ्गे लुङ भनिएको यो ठाउँ अपभ्रंशबाट शैलुङ नामकरण भएको भनिन्छ ।

धार्मिक एवम् प्राकृतिक सौन्दर्यका दृष्टिले यसै पनि चर्चित शैलुङ क्षेत्रमा मिनी ग्रेटवाल निर्माण भएपछि आन्तरिक एवं बाह्य पर्यटकको आगमन झनै बढेको छ ।

शैलुङ क्षेत्रको कालापानीदेखि डाँफेढुङ्गासम्म पाँच सय मिटर लामो मिनि ग्रेटवालको निर्माण अन्तिम चरणमा छ । ९५० मिटर लामो ग्रेटवाल निर्माणको लागि डिपिआर तयार भए पनि हाललाई ५ सय मिटर मात्र ग्रेटवाल निर्माण गरिएको छ । नेपाल सरकारले मुलुक भित्र रहेका महत्त्वपूर्ण १०० वटा पर्यटकीय स्थानमा पर्यटन पूर्वधार निर्माण गर्ने निर्णय गरेसँगै शैलुङ क्षेत्रमा मिनि ग्रेटवालको प्रस्ताव गरिएको थियो । सोही अनुसार ग्रेटवाल निर्माणको लागि संघीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट बिनियोजन भएको थियो । शैलुङ गाउँपालिकाका पूर्व अध्यक्षका अनुसार कुल ४ करोड ९४ लाख १५ हजार ७ सय १८ रुपैयाँमा ग्रेटवाल निर्माणको काम अगाडि बढाइएको थियो ।

अहिले छोटो समयका लागि घुम्ने आन्तरिक पर्यटकहरुको प्रमुख रोजाई शैलुङ क्षेत्र बनेको छ । राजधानी काठमाण्डौबाट मनोरम प्राकृतिक वातावरणमा एक दिनको छुट्टी मनाउन चाहनेहरुका लागि शैलुङ उत्कृष्ट गन्तब्य बनेको छ । एक पटक शैलुङ्ग भ्रमण गरेर जानेहरु जो कोहीले पनि शैलुङ्गको सुन्दरता र धार्मिक महत्त्वको बारेमा मुक्तकण्ठले प्रशंसा गर्ने गर्दछन् ।

प्राकृतिक सुन्दरताका साथै धार्मिक दृष्टिकोणले समेत शैलुङ क्षेत्र महत्वपूर्ण मानिन्छ । साँच्चो मनले जे चितायो त्यो पूरा गरिदिने शैलुङ्गेश्वर महादेव मन्दिर, धर्मद्वार, बौद्ध च्छ्योर्तेन, डाँफे ढुङ्गा, गङ्गटो ढुङ्गा, बाघ ढुङ्गा, दाँइ गर्ने डाँडो लगायत थुप्रै प्राकृतिक एवम धार्मिक दृष्टिकोणका स्थलहरु शैलुङ क्षेत्रमा पर्दछन् ।

शैलुङमा प्रत्येक वर्षको जनै पूणिर्माको समयमा ठूलो मेला लाग्ने गर्दछ । त्यस्तै प्रत्येक १२ वर्षको फरकमा शैलुङेशवर महादेव र शैलुङ देवीको मन्दिरमा गोदवारी खुल्ने र उक्त समयमा गएर गोदावरी नुहाएमा आफ्नो मनोकांक्षा पूरा हुने र जानी नजानि गरेका सबै पापहरु पनि पखालिने जनविश्वास गरिन्छ । उक्त समयमा महादेव मन्दिर र देवी मन्दिर रहेको ढुंगाको पहरामा अवस्थित गाईको थुनको आकारबाट सेतो दूध जस्तै तरल पदार्थ झर्ने र उक्त तरल पदार्थलाई साक्षात गाईको दूध सम्झी गोदावरी नुहाउन जाने भक्तजनहरुले सोही दुधले स्नान गर्ने गर्दछन् । यो बाहेक तीज, श्रीकृष्ण जन्माष्टमी, बाला चतुर्दशी, धान्य पूर्णिमा, महाशिबरात्री र बुद्ध पूर्णिमा जस्ता धार्मिक पर्वहरुमा पनि शैलुङ क्षेत्रमा मेला लाग्ने गर्दछ ।

यद्यपी शैलुङ क्षेत्रमा आउने पर्यटकहरुले पर्याप्त मात्रामा व्यवस्थित र सहुलियत दरका सुविधाहरु भने कमै मात्रामा पाउने गरेका छन् । साथै सडक सुविधाको गुणस्तर वृद्धि हुन नसकेका कारण ठूला सवारी साधनमा आउने ठूलो समूहका पर्यटकहरु उक्त क्षेत्रमा पुग्न सकेका छैनन् । यसका लागि सबै प्रकारका पर्यटकहरुलाई सुविधा हुनेगरी सामान्य देखि सुविधा सम्पन्न रिसोर्ट, होटल, लज र खाजाघरका साथै सडक, सवारी साधन, सुरक्षा लगायत आवश्यक संरचनाको विकास र विस्तार गर्न सके शैलुङ क्षेत्र दोलखाको मात्रै नभइ देशकै एउटा प्रमुख गन्तब्य बन्ने कुरामा दुइमत नहोला ।