मंसिरे 

बिमला देबकोटा

हामी सानै थियो। त्यतिबेला अहिले जस्तो बाह्रमासे  फलफुल र तरकारी पाईदैन थियो । हरियो सागपात र फलफुलहरू  तथा गुन्द्रुक, मस्यौरा मुलाका चाना जस्ता तरकारिहरू सुकाएर राख्ने चलन थियो । हाम्राे बारीमा बर्षामा काक्रा फर्सी घिरौला,  तिते करेला , वरेला, कर्कलो अतिनै फल्ने।  हिउँदमा काउली, मुला, सागहरू गान्टेमूला जस्ता तरकारीहरूले वारि भरिएको हुन्थ्यो।  तरकारि किन्ने चलन त्यति थिएन। आफ्नो बारीमा भएको तरकारीहरू बाड्ने चलन थिये । आफ्नो बारीमा नभएका तरकारिहरू जस्तै  परवल,  चम्सुरको साग टोकरि टोकरिनै हाम्रो बाबाले किन्नु हुन्थ्ये ।यसरी टोकरिनै ल्याउदा गाउँभरि बाँड्ने र सुकाउने चलन थियो । हाम्रो आमाले चम्सुरको  सागलाई परालको डोरि बाटेर सुकाएकाे थाहा थियो मलाई ।हाम्रा बाबाआमाले सिजन अनुशारको फल र तरकारीमात्र खानु हुन्थ्यो कारण त्यतिबेला त्यस्तै उपलब्ध हुन्थ्यो । आँप र लिच्चिको  सिजनमा टोकरि टोकरि  किनेका आँप  लिच्चि साथै बाबाको मामाघर  नुवाकोट तथा सिउडेनीबाट कोसेली आएका सिजनका तरकारी तथा फलफुल हाम्रो बाल्यकालको खाना थियो। हाम्रो बाबा फोहरा दरबारको पण्डित भएको हुनाले तराईबाट आउने कोसेली पनि हाम्रो घरमा आउथ्यो । यस्तै यस्तै तरीकाबाट चलेको हाम्रो जीवनमा बाबाआमाले कहिले के खाने कहिले के खाने तय गर्नु हुन्थ्यो । माछा मासु, लसुन प्याज, गोलभेडा हाम्रो घरमा पाक्दैन थियो। बिबाह नगरेकि छोरी र ब्रतबन्ध नगरेको छोराले भान्छामा पकाउने चलन थिएन ।  बाबाहरूले मर्दना धोति फेरेर औसनी हालेर मात्र खाना खानु हुन्थ्यो । खाना खानेवेलामा बोल्ने चलन थिएन ।  आमाहरू सधै नुवाएर चोखो कपडा लगाएर खाना वनाउनु हुन्थ्यो । ब्राह्मण परिबारमा हुर्केको भएर होला मलाई मदिराको बारेमा केही थाहा थिएन मदिरा त्यो डाँडामानै लाने चलन थिएन । घरमा काम गर्नेहरूलाई मनलागे बालाजुतिर आएर पिउथे । 

परिबारमा आमाहरूको भूमिका विशेष थियो। त्यो बेलामा मौसमी फलहरू मात्र खाने भएर आमाहरूलाई खानेकुराको जो गर्न  ठूलो जिम्मेवारी थियो। मंसिर महिनामा काक्रो खानु पर्छ यसको ठुलो महत्व थियो त्यहि  भनेर आमाले ठुलै कोशिष गरेर सकेसम्म काक्रोलाई झालमानै राख्ने प्रयत्न गर्नु हुन्थ्यो। माटोको घैटामा खल्पी अचार बनाएर राख्नु हुन्थ्यो । मलाई अहिले पनि त्यो खल्पीको स्वाद परेको छ ।नयाँ अन्न तथा फलफुल फलेपछि भगवानलाई चढाएर मात्र खाने चलन थियो ।घरमा गाई ब्याएपछि बज्रबाराहिमा दूध चढाउने  चलन थियो ।  कुनै नयाँ फलफुलको बोटमा एउटामात्र फल लाग्यो भने नदिमा बगाउने ।  यस्तै यस्तै चलनमा हुर्केको भएर होला मलाई पनि मिलेसम्म ति चालचलन र रितिरिवाज अपनाउन मन लाग्छ । आज मंसिर १ गते भएसम्म हरियो सानो भएपनि र  नभए पाकेको काक्रा को टुक्रा भने पनि खाने चलन थियो।आज नाम नलिई काक्राको एक टुक्रा मात्र भए पनि खायो भने गति परिन्छ भन्ने चलन भएर होला खोजि खोजि खाने चलन थियो ।तर आज भोलि बजारमा जतिवेला जे पनि पाइने भएर होला यस्ता चिजको महत्व घट्दै गएको छ । जलवायू परिवर्तन तथा वातावरण अनुकुलित टनेल बनाएर आज भोलि बेमौसमि फलफुल तथा तरकारी फलाउने चलन भएर होला।  मेरि आमालाई मंसिरमा काक्रो खानलाई  काक्रो जोगाउन धौ धौ परेको थियो। तर मलाई भने आज त्यो परेन। हामीले आज बिहानै पसलबाट एक केजी  हरियो मंसिरे  र पाकेको एउटा मंसिरे किनेर ल्याएउ  र आज काक्रो खाएउ। बाबाआमाको परम्परालाई निरन्तरता दिनलाई सकेसम्म यसो गरियो ।

२०७९.०८.०१