अहिलेको भोज

बिवाह, ब्रतवन्ध, पुजाआजा, जस्ता सामाजिक कार्यहरुमा सेल पुरी, फुरुन्दाना,चीउरा अर्सा, अनर्सा ,जेरी ,हलुवा ,तरकारी अचार खुवाएर आफन्तको स्वागत गरिन्थ्यो ।

पुष्कर अर्याल

मेरो बाल्यकाल ग्रामिण परिबेशमानै बित्यो । हामी सानो हुदाँ हिउदमा बाक्लो कुहिरो लाग्थ्यो । पानी तथा खुला चौउरमा चीसोले तुसारो (ठाटो) जम्थ्यो । हाम्रा घरभित्र शौचालय थिएन । रात बिरात बाहिर निस्कन भुत, सर्प र चोरको डर हुन्थ्यो । बाँसघारी, बारीकापाटा र गौंडा चर्पीका रुपमा प्रयोग हुन्थे । जुत्तानै नलगाई हिडिन्थ्यो ।

हसियाँ, चुलेसी र खुर्पाले हात काटे शिमालीको पात माडेर त्यस्को रस घाउमा हालिन्थ्यो । घाउ बेस्कन चह्याउथ्यो र निको हुन्थ्यो । पिनाश भए अविजालोको रसलाई तताएर त्यसको दुवै नाकको प्वालमा हालिन्थ्यो दुई तीन दिन हालेपछि नीको हुन्थ्यो । कान दुखे सिउंडी या मूलाको पहेंलो पात निचोरेर कानमा हालिन्थ्यो । दुख्न छोड्थ्यो, जीव्रोमा खटिरा आएमा जाईको पात चपाईन्थ्यो या श्रीखण्डको चन्दन जिब्रोमा दलिन्थ्यो तर अहिले तिनै जडिबुटी प्रसोधन गरेर कारखानामा औषधि बनाईन्छ ।

हामी हाम्रो देशको प्रशस्त पैसा ती औषधि किन्न विदेशीलाई दिन्छौं । बिवाह, ब्रतवन्ध, पुजाआजा, जस्ता सामाजिक कार्यहरुमा सेल पुरी, फुरुन्दाना,चीउरा अर्सा, अनर्सा ,जेरी ,हलुवा ,तरकारी अचार खुवाएर आफन्तको स्वागत गरिन्थ्यो । यस्ता कार्यहरु छर छिमेकी र आफन्तको सहयोगमा तयार गरिन्थ्यो ।

दाल भात खानेलाई बारीकोपाटामा दाल भात पकाएर खुवाउने चलन यियो । दालभात र चोखो नितोको औधि चलन थियो । यसरी बारीकोपाटामा पकाएको दाल भात तरकारी सवै वरिपरि वसेर खान्थे । यसरी हामी आफ्नो मौलिक संस्कृति परम्परा मनाउँथ्यौ । अहिले समय धेरै परिवर्तन भयो । आफूलाई ठूलो भनाउन वा देखाउन गहना र कपडाको होडबाँजी चल्न थाल्यो । भोजमा पनि प्रसस्त खर्च गर्ने र भड्किलो बनाउन थालियो । यस्ता कार्य गर्न नैतिक आर्जनले नपुग्ने हुंदा घूस खोरी वढ्यो । पैतृक सम्पत्ती वेची,वेची अनुत्पादक खर्च प्रसस्त गर्न थालियो । आफ्नो उत्पादन छैन सवै विदेशी सामान प्रयोग गर्नाले प्रसस्त व्यापार घाटा भयो । यसमा आम नागरिकदेखि उपल्लो वर्गका सवै जिम्मेवार छन् ।