होली र हजुरबा

शब्दसेना

कुरो २०६१/६२ सालतिरको हो। मनमैजु फाँटमा हालको जस्तो घनावस्ती थिएन। फाट्टफुट्ट घर थिए। हाम्रो दुई घर खेतको बीचमा टाढैबाट देखिन्थे ।

होलिमा आफन्तहरू बोलाएर रमाइलो गर्ने मन भयो। ३०/३५ जना जम्मा भयौं। खाजासाजा तयार गरियो। होली खेलेपछि खाने सोचियो।

घर अगाडिको शून्य सडकले एकै दिन एकैचोटि यति धेरै पाइताला चुम्न पायो। त्यो पनि कुदिरहेका । दलीरहेका सप्तरङ छरिरहेका।

कार्यक्रमको प्रमुख अतिथि मेरा मामाघर हजुरबा ८६ वर्षिय लालनाथ ढकाल हुनुहुन्थ्यो । वहाँलाई सडकको बीचमा एउटा कुर्सीमा राख्यौं। पहिले सबैले वहाँबाट फागु दलीमाग्यौं र आशिर्वाद लियौं। त्यसपछी सबैले पालैपालो एकअर्कालाई अबिर दलेर रमायौं। ऊबेला क्यामरा थिएन । फोटो खिचेनौं। दृश्य हृदयको एक भागमा सेव गरेर राख्यौं । होली गीत कसैले जानेको थिएन। २५/३० मिनेटमा खेल सकियो। हजुरबाले होलिका दहनको कथा सुनाउनुभयो।

आज किनकिन फागुमा रम्न रहर लागेन । बरण्डाबाट तल हेरें। देशविदेशका मानिसहरू लोला हानाहान गर्दैथिए। एकैछिनमा सडक प्लास्टिकका फोहोरले हेरिनसक्नु भयो।

मादक पदार्थले मदहोश मानिसहरू झगडा गर्दैथिए। यस्तो दुष्दृयले एकैछिनमा अँखा र मन दुबै विरक्त भए। कोठाभित्र आएर थ्याच्च कुर्सीमा बसेँ।

मनमा अनेक कुरा उर्लेर आए। गणतन्त्रको विशाक्त सांस्कृतिक परिवेशमा किन यसरी गुजुल्टिएँ होला! हिजोको सौम्य संस्कृती सम्झिएर पछुताएँ। त्यस दिन हजुरबाले सुनाउनुभएको कथा सम्झिएँ। हजुरबा स्वर्गीय हुनुभएको पनि आज चारपाँच वर्ष भैसक्यो। तर वहाँका दिव्य कथा हरेक होलीमा सम्झिरहन्छु।