लोकन्थली, भक्तपुर ।
लघुकथाको उन्नयनमा सक्रिय ‘विलोम’ले अर्को नयाँ अभ्यास प्रारम्भ गरेको छ । ‘स्रष्टा, सृजना र समीक्षा’ नाम दिइएको यो अभ्यास समसामयीक कृतिमाथि केन्द्रित रहने छ ।
अग्रज लघुकथाकारसँग भेटघाट एवम् वार्ताका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने कार्य प्रारम्भ गरेको केही महिनापछि यसले अर्को अभ्यास प्रारम्भ गरेको हो ।
आजैदेखि प्रारम्भ गरिएको ‘स्रष्टा,सृजना र समीक्षा’ नामक नयाँ अभ्यासमा लघुकथाका क्षेत्रमा क्रियाशील कृति प्रकाशित गरेका समकालीन युवा पुस्ताका सर्जकका कृतिमाथि समीक्षा एवम् परिचर्चा गरिने छ ।
यसको पहिलो शृङ्खलाअन्तर्गत साउन २७ गते झण्डै आधा दशक यता लघुकथा लेखनमा सक्रिय मनीषकुमार शर्मा ‘समित’को लघुकथा कृति ‘हराएको सहर’ कृतिको समीक्षा एवम् पाठकीय टिप्पणी गरिएको थियो ।
आज लघुकथाकार ‘समित’को लघुकथा कृतिमाथि गणेश घिमिरे ‘मार्मिक’, मन्दिरा मधुश्री, रामकुमार पण्डित, रेणु अधिकारी ‘मौनता’ तथा रेहित सैँजुले समीक्षा एवम् पाठकीय टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा ‘विलोम’ अभ्यासका अभियन्ताहरू विनोद नेपाल, दीपक लोहनी तथा ममता मृदुलले पनि लघुकथा कृति ‘हराएको सहर’ माथि आफ्नो समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
‘विलोम’ले लघुकथा सर्जकहरूमा पठन संस्कारको विकास तथा लघुकथा सिर्जनामा रहेका कमीकमजोरी औँल्याई आवश्यक सुधार गर्न प्रेरित गर्ने अभिप्रायले नयाँ पुस्ता लक्षित यो अभ्यास प्रारम्भ गरेको हो ।