प्याब्सन काठमाडौंले तीज विशेष नृत्य प्रतियोगिता गर्ने 

काठमाडौं, भदौ ३ गते । 

हाम्रो मौलिक संस्कृतिलाई विद्यालय स्तरबाटै संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले नारीहरूको महान् पर्व हरितालिका तीजको विशेष अवसरमा प्याब्सन काठमाडौंले यही भदौ २७ गते राष्ट्रिय नाचघर, जमलमा ‘प्याब्सन अन्तर – विद्यालय तीज विशेष’ नृत्य प्रतियोगिता–२०८० को आयोजना गर्ने भएको छ ।

देशको भाषा, साहित्य, कला, संस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका निजी तथा संस्थागत विद्यालयहरूले आन्तरिक रूपमा अभिभावक दिवसदेखि विभिन्न लोकगीत, लोकनृत्य, नाटकजस्ता प्रतियोगिताहरू गराउँदै हाम्रा मौलिक संस्कृतिहरूको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् । 

नेपाली मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले विद्यालय स्तरबाटै नेपाली नारीहरूको महान् पर्व तीजको विशेष अवसर पारेर वि.सं.२०६९ सालमा पहिलो संस्करण प्रारम्भ गरेको प्याब्सन काठमाडौंले यस वर्ष भदौ २७ मा दशौं संस्करण – २०८० को आयोजना गर्न लागेको कुरा संस्थाको उपाध्यक्ष तथा कार्यक्रम संयोजक रीता राई (दाहाल) ले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । ‘सांस्कृतिक विविधताले भरिएको देश नेपाल जहाँ हरेक चाडपर्व, रीतिरिवाज, धर्म, संस्कृति र कला एउटै जातजातिमा सीमित नरहेर सबैले साझा रूपमा मनाएका छन्’, उपाध्यक्ष राईले भन्नुभएको छ, ‘धार्मिक, पौराणिक तथा साँस्कृतिक महत्व बोकेको तीज पर्वलाई विद्यालय स्तरबाटै विद्यार्थीहरूमा जानकारी गराउँदै हाम्रा कला, संस्कृतिको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं जिल्ला प्याब्सनले यस तीज नृत्यलाई विशेष महत्व दिँदै कला, संस्कृति बचाऊ अभियानका रूपमा लिँदै आएको छ ।’

कार्यक्रम संयोजक राईले पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार यस नृत्य प्रतियोगितामा ६० विद्यालयका त्यति नै सङ्ख्यामा नृत्य समूहहरू सहभागी हुने छन् । प्रतियोगी समूहहरू मध्ये प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालय वा समूहलाई क्रमशः रु. २०,०००।–, रु. १५,०००।– र रु. १०,०००।– नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने र ४औँदेखि १०औँ स्थानसम्म प्राप्त गर्ने विद्यालय वा समूहलाई ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।