कथा यात्रमा पद्मावतीको कथनी 

२७ बैशाख,

काठमाडौं

 नेपाली आख्यानको माध्यामबाट नारी संवेदनाका विविध रूपको चर्चा गर्ने सिद्धहस्त कथाकार पद्मावती सिंहको ७६ औं जन्मोत्सव कथा यात्राका यात्रीहरूले पद्मावतीको छाउनी स्थित निजि निवासमा कथाकारको कथनी श्रवण गरी मनाए । उक्त अवसरमा कथाकार सिंहले आफ्नो सदावहार कथा “सपनाको सहर काठमाडौं” रोचक पारामा वाचन गर्नु भएको थियो .

 कथाकारको कथनीमा सिद्धहस्त कथाकार पद्मावती सिंहले आफ्ना बाल्यकालका स्मृति, कथा लेखन र प्रकाशनको सुरुवाती संघर्ष, कथा प्रकाशनको खुसी, कथा लेखनमा सम्पादकहरूको सद्भभाव र पाठकहरुको मायाको फेहरिस्त सुनाउनु भयो । कथाकार पद्मावती सिंहले प्रेमा शाह, उत्तम कुँवर र केशवराज पिंडालीले आफ्नो कथा यात्राको सुरुवाती समयमा गरेको सहयोगको चर्चा गर्दै गुन्जनले नेपाली साहित्यमा पुर्याएको योगदानको पनि कथाकारको कथनीमा व्यक्त गर्नु भयो । 

 वि. सं. २०२२ सालमा ‘पत्थरको हृदय’ कथा प्रकाशन गरि कथा लेखन यात्रा आरम्भ गर्नु भएको पद्मावती सिंहको वि.सं.२०३८ सालमा कथादि नामक कथासंग्रह प्रकाशनमा आएको थियो । निरन्तर कथा लेखिरहने सिंहका आख्यानात्मक आठ कृतिहरू प्रकाशित छन् । रेडियो नेपालबाट स्वर परिक्षा उत्तृण पद्मावतीका दुई गीति एल्वमहरू समेत नेपाली संगीतिक बजारमा भित्रीसकेका छन् । 

 कथा यात्राले प्रत्येक महिना एक सिद्धहस्त कथाकारको जन्मोत्सव मनाउँदै कथाकारको कथनी श्रवण गर्ने कार्यक्रमको थालनी गरेको छ । कथाकार पद्मावती सिंहको बैशाख २६ गते मातातीर्थ औसीको दिनमा परेको जन्मदिनबाट आरम्भ गरिएको यो पहिलो कदमका कथा यात्रीहरूमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुईंकेल र हरिश कल्पित रहेका छन् । 

यस कार्यले नेपाली कथालाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।