कथनीमा दंग हरिहर खनाल

 १७ भाद्र,

काठमाडौं ।

 नेपाली आख्यानको माध्यामबाट मान्छेमान्छे बिचको अन्तर्सम्बन्धलाई द्वन्द्वात्मक दृष्टिसहित सामाजिक सम्बन्ध स्थापनार्थ कथामा खटिरहने सिद्धहस्त कथाकार हरिहर खनालको ७९ औं जन्मोत्सव कथा यात्राका यात्रीहरूले धापासी, काठमाडौँ स्थित कथाकारको निजि निवासमा कथाकारको कथनी श्रवण गरी मनाए ।

उक्त अवसरमा कथाकार खनालले बालमनोविश्लेशणात्मक, अति यथार्थ र अनुभूतिहरू मिश्रीत स्वराकंन गरिएको एक आफ्नै कथा श्रवण गराउनु भएको थियो ।

कथाकारको कथनीमा सिद्धहस्त कथाकार हरिहर खनालले पारिजात र रमेश विकलको हौसला अनि समकालीन साथी ध्रुवचन्द्र गौतमहरूको साथले आफ्नो कथाकारीता र साहित्यिक समर्पणसहित कथा लेखनमा प्राप्त स्थान र पाठकहरुको मायाको फेहरिस्त सुनाउनु भयो ।

कथाकार हरिहर खनालले आफ्नो किशोरकालमा साहित्यकार तथा वाम बिचारक गुरु आननदेव भट्टको प्रेरणा र प्रभावले प्रगतिशील यथार्थवादी आख्यान लेखनतर्फ हौसिएको र लेखन, अध्ययन र सम्पादनमा निरन्तर समर्पित रहेको बताउनु भयो । विश्व साहित्यमा पनि राम्रो रुची राख्ने कथाकार खनाल आफ्ना पुस्ताको कथाकारहरूा अलावा अनुज पुस्ताहरूलाई पनि अघ्ययन गर्न रुचाहुनु हुन्छ । ‘पत्रिकाले कुनै पनि विचारलाई रोक्न र छेक्न नहुने ।’ बिचार सम्पादक हरिहर खनालको छ । उहॉले २० को दशकमानै ‘नौलो रॉको’ पत्रिकाको सम्पादन गर्नुभएको थियो । लामो समयदेखि प्रकाशन रोकिएको अवस्थामा रहेको ‘गरिमा’ साहित्यिक पत्रिकालाई पुन: प्रकाशित गरी प्रकाशनमा सबै वर्गका स्रष्टाहरूलाई स्थान दिनु भएको थियो ।

अध्यापन क्षेत्रमा कार्यरत हरिहर खनालले सम्भवत: नेपाली कथा साहित्यको इतिहासमा सबैभन्दा बढि कथा लेखन गर्नुभएको हुनसक्ने छ । उहॉले वि.सं. २०२४ सालमा पहिलो पटक ‘जूनको प्रकाशमा सूर्र्यलाई निम्त्याएर’ शीर्षकको कथा प्रकाशन गरि नेपाली आख्यानमा प्रवेश गर्नु भएको थियो । पछिल्लो समय ‘हरिहर खनाल ग्रन्थावली’ भाग तीनसम्म प्रकाशन गरि आफ्ना कथाहरूलाई एकीकृत गर्नु भएको खनालको ग्रन्थावली भाग चारको अन्तिम तयारी भइरहेको छ । उहॉले करिव २०० मौलीक कथाहरू लेख्नुभएको छ ।चुपचाप बस्न नरुचाउने हरिहर खनालले भर्खरै मात्र नेपाल प्रज्ञा प्रतिष्ठानको एक परियोजना अन्तर्गत ‘आधुनिक सौन्दर्यशास्त्रका समस्याहरू’को अनुवाद ग्रन्थको तयारी सम्पन्न गर्नु भएको छ ।रुसी र चिनिया साहित्यको जगमा उभिनु भएको हरिहर खनालले माक्सवादी सौन्दर्यचेतबाट समाजको यथार्थलाई विम्व र प्रतिकमा खेलाई सुन्दर आख्यान सृजना गर्न खप्पिस हुनुहुन्छ ।

 कथा यात्राले प्रत्येक महिना एक सिद्धहस्त कथाकारको जन्मोत्सव मनाउँदै कथाकारको कथनी श्रवण गर्ने कार्यक्रमको थालनी गरेको छ । कथाकार हरिहर खनालको जन्मोत्सव भाद्र महिनाको दोस्रो हप्तामा पर्ने गर्छ । वि.सं. २०८१ सालको बैशाख महिनाबाट आरम्भ गरिएको कथाकारको कथनीमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुइकेल, हरिश कल्पित र पवित्रा अधिकारी कथा यात्रीको रुपमा रहेका छन् ।

यस कार्यले नेपाली कथालाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।