बी.पी. जन्म दिवस र साहित्यिक उत्सव मनाइदै

भाद्र २४ सुन्दरीजल, काठमाडौं ।

नेपालको राजनीति र साहित्यका शिखर पुरुष बी.पी. अर्थात विश्वेश्वरप्रसाद कोइरालाको १११औँ जन्म दिवसको अवसरमा यस नेपाली लेखक सङ्घ काठमाडौँ जिल्ला कार्य समितिले यही २०८१ भाद्र २४ गते सोमवार ‘बी.पी. जन्म दिवस साहित्यिक उत्सव’ कार्यक्रमको आयोजना गरेर मनाउने भएको छ ।

बी.पी. सङ्ग्रहालय परिसर सुन्दरीजलमा आयोजना हुने यो कार्यक्रमको समुद्घाटन नेपाली काङ्ग्रेसका सभापति पूर्वप्रधानमन्त्री मा. शेरबहादुर देउवाले गर्नु हुनेछ । बी. पी. कोइरालाको राजनीतिक चिन्तन र योगदान तथा साहित्यिक सिर्जनाहरूको विषयमा नेपाली काङ्ग्रेसका महामन्त्री मा. विश्वप्रकाश शर्मा र राजनीतिक विश्लेषक एवम चिन्तक प्रा.डा. कृष्ण खनालले सम्भाषण गर्नु हुनेछ ।

बी. पी. कोइरालाको साहित्यिक सिर्जनाहरूको महत्व र प्रभाव तथा राजनीतिक चिन्तनको प्रयोग र योगदानको विषयमा नेपाली लेखक सङ्घ सल्लाहाकार, डा. तुलसी भट्टराई, चर्चित आख्यानकार तथा साहित्यकार श्री नारायण ढकाल, तथा समीक्षक एवम् साहित्यकार डा.ज्ञानु पाण्डेसँग नेपाली लेखक संघका सहअध्यक्ष डा. रत्नमणि नेपालले परिसम्वाद गर्नु हुनेछ । सो अवसरमा वरिष्ठ, चर्चित एवम् नवोदित कवि साहित्यकारहरुले रचनाहरू प्रस्तुति गर्नु हुनेछ ।

साथै सोही दिन साँझ बी.पी. सङ्ग्रहालय परिसर सुन्दरीजलमा कालाकारहरूद्वारा शास्त्रीय सङ्गीत प्रस्तुत गरिने छ । उत्सवका सिलसिलामा सङ्ग्रहालय परिसरमा सो दिन दिनभर स्वास्थ्य परीक्षण शिविर, पुस्तक प्रदशर्नी तथा विक्री र बी. पी. कोइराला सम्बन्धी फोटो तथा सामग्रीहरूको प्रदशर्नी सञ्चालन पनि हुनेछ । विश्वेश्वरप्रसाद कोइराला एक प्रेरक, मार्गदर्शक, चिन्तक, साहित्य सर्जक र लोकतान्त्रिक योद्धासमेत भएकाले वर्तमान पुस्ताले मात्र नभएर भावी पुस्ताहरूले पनि सदा सम्झनु र सम्मान गर्नुपर्ने आदर्श हुनुहुन्छ । उहाँको जन्म दिवस र देहवसान भएको दिनमा नेपालका विभिन्न साहित्यिक, सामाजिक तथा राजनीतिक संघ सङ्गठनहरूले विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाउने, संस्मरण गर्ने र प्रेरणा लिने कार्य गर्दछन् ।

नेपाली लेखक संघ काठमाडौँ जिल्ला कार्य समितिले पनि यस वर्ष प्रस्तुत कार्यक्रमको आयोजना गरेर मनाउन लागेको छ । यसबाट साहित्य सिर्जना र लोकतान्त्रिक मूल्य मान्यताको जगेर्ना हुने, बी.पी.को कार्य, सङ्घर्ष र चिन्तनबाट भावी पुस्ताले प्रेरणा लिने र समाज विकासका लागि सकारात्मक र सिर्जनात्मक मार्गनिर्देश हुने विश्वास गर्न सकिन्छ ।

यो उत्सव बिहान ९ बजे सुरु भई साँझ समापन हुनेछ ।