
विमला देवकोटा
२०८२ असार
गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका-९, मा गलेश्वरमा रहेको गलेश्वरधाम एउटै चक्रशिलामा अवस्थित छ।
म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारी र पारीका केही साविकका गाविस र मुस्ताङ जिल्लालाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेशद्वारको रुपमा समेत परिचित छ। गलेश्वर धामको इतिहास स्कन्द पुराणसँग, आर्थिक इतिहास उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग जोडिएको छ।
उन्नाइसौँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको बताइन्छ। त्यसैगरी आर्थिक दृष्टिकोणले पनि गलेश्वर ऐतिहासिकस्थल भएको इतिहासकारले बताएका छन्।
उन्नाइसौँ शताब्दीको अन्त्यताका गलेश्वर म्याग्दीका उत्तरी क्षेत्रको साथै उत्तरमा भोट र दक्षिणमा भारतीय व्यापारीको समेत सम्पर्क हुने ठाउँको रुपमा चिनिने गरेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित विभिन्न लेखमा चर्चा गरिएको छ। यो क्रम बेनी जोमसोम सडक विस्तार नहोउञ्जेलसम्म जारी रहेको थियो।
बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्निमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ।
लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, जडभरत गुफा, विशाल चट्टानमा जग बिना नै निर्माण गरिएको भगवान शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, साँढेका विशाल मूर्ति घन्टा यहाँका मुख्य आकर्षण हुन्।
पूर्वपट्टि कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बिचमा अवस्थित गलेश्वर क्षेत्र अपार पर्यटकीय सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि सरकारले खासै ध्यान दिन नसकेको गुनासो स्थानीय बासिन्दाको रहेको छ। म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वर धाम रहेको छ।
गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो। गलेश्वरधाम एउटै चक्रशिलामा अवस्थित छ। उन्नाइसौँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको भनाइ छ।
पूर्वपट्टि कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर पौराणिकस्थलबाट प्रमुख धार्मिक पर्यटकीयस्थलमा परिणत भएको छ ।
नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर धाममा पछिल्लो समय तीर्थयात्रीका साथै आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ । गलेश्वरमा निर्माण भएका विकासका पूर्वाधार र प्रचारप्रसारका कारण केही वर्षयता यसको महत्व बढेको र आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो आगमन हुन थालेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शिला (पत्थर) माथि अवस्थित स्वयं प्रकट शिवलिङ्ग रहेकोे प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौँका पूर्वाधार निर्माण भएपछि तीर्थयात्री तथा बाह्य पर्यटक आकर्षित भएका छन् ।
कालीगण्डकी नदीदेखि नै सुरु भएको चक्राकार शिलाको मध्य भागमा कहिल्यै नसुक्ने पोखरी र कल्पवृक्ष रहेको विश्वकै अलौकिक गलेश्वरधाममा चढेको भेटी तथा दाताको सहयोगबाट कोषको पहलमा मन्दिर नजिकै कालीगण्डकी नदी किनारमा रहेको खाली जग्गामा पर्यटन कार्यालय पोखराको सहयोगमा क्याम्पिङ साइट, उद्यान, सार्वजनिक शौचालय र खेलमैदान निर्माण भएका छन् । गलेश्वर देखि पौलत्स्य आश्रम जोड्ने पदमार्ग निर्माण भएको छ । बेनीदेखि तीन किलोमिटर उत्तरतर्फ बेनी–जोमसोम सडकको छेउमा पर्ने गलेश्वरमा बसपार्कसमेत निर्माण गरिएको छ ।
विद्युतीय उपकरणको सहायताले कालीगण्डकी नदीबाट पानी तानेर मन्दिर परिसरको एक सय आठ धारामा स्नान गर्ने व्यवस्था मिलाइएको छ । गत वर्ष खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयसँग समन्वय गरेर धारा निर्माण गरिएको हो ।
गलेश्वरमा विश्वमा कतै पनि नभेटिएको स्वयं प्रकट शिवलिङ्ग, चक्रशिलाको परिधिमा टुसाएका शालिग्राम, प्रस्टरुपमा देखिने भगवान् शिवका चरण चित्र, त्रिशूल, शङ्ख, नाग, देवदेवीका मूर्ति आदि रहनुले पनि यो विश्वकै अलौकिक तीर्थस्थल भएको पुष्टि हुने पण्डित भीमनाथ पराजुलीले बताए ।
मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको गलेश्वर धामले स्वदेशी तीर्थयात्रीको मात्रै होइन विदेशी पर्यटकको समेत ध्यान खिच्न सफल भएको छ । यहाँ दैनिक दर्जनौँ विदेशी पर्यटक आउने गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । विष्णु भगवान्ले बराह अवतार लिई पृथ्वीलाई उद्धार गरेको स्मरण गराउने जलबराह कुण्डको जल अभिषेक गर्दै दर्शन पूजन गर्नाले पाप नाश भई मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता छ ।
बराहको मध्य भागमा शेषनागको मूर्ति छ । मन्दिरमा अवस्थित चक्रशिलाको विभिन्न ठाउँमा विश्वमै दुर्लभ शालिग्राम शिला रहेका छन् । धार्मिक व्यक्तित्व यहाँ भगवान् विष्णु शालिग्रामका रुपमा स्वयं प्रकट भएको र ढुङ्गो टुसाएको दाबी गर्छन् । यसका अतिरिक्त एक सय आठ शिवलिङ्ग र जडभरतले तपस्या गरेको गुफा पनि गलेश्वरको अर्को आकर्षण हो । साउनको सोमबार, बालाचतुर्दशी र शिवरात्रिका दिन विशेष पूजाआजा हुने गलेश्वर एक दशक अघिसम्म सुनसान हुने गरेकामा पछिल्ला वर्ष प्रायस्जसो सबै दिन भक्तजन आउने गरेका छन् ।
म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वरधामको महिमा स्कन्द पुराणमा समेत उल्लेख छ । म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारि र पारिका केही गाउँ तथा मुस्ताङलाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेश द्वारका रुपमा समेत परिचित छ ।
गलेश्वर धामको इतिहास स्कन्द पुराणसँग, आर्थिक इतिहास उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग जोडिएको छ । पं भीमनाथ पराजुलीका अनुसार गलेश्वरमा पुलस्त्य पुलह, वशिष्ठ, गालवऋषि, राजार्षिरहुगण, कपिलमुनि, गलेश्वर बाबा, जडभरत जस्ता ऋषिले तपस्या गरेका थिए । गलेश्वरमा दर्शन र पूजन गरेमा पुण्य प्राप्ति र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
पौराणिक महत्वको गलेश्वरलाई प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गलेश्वर शिवालय क्षेत्र विकास कोष लागिपरेको छ । कोषका अध्यक्ष रेग्मीका अनुसार यहाँका अधिकांश संरचनामा भक्तजनले चढाएको भेटीको ठूलो योगदान छ । मन्दिरमा चढेको भेटीलाई व्यवस्थित र पारदर्शी गराउन सक्ने हो भने धैरै भौतिक पूर्वाधारहरु निर्माण गर्न पनि सकिँदो रहेछ भन्ने कुराको उदाहरण पनि गलेश्वर बनेको छ ।